प्रज्ञाको शब्दकोशमा अपाङ्गताद्वेषी शब्दको चाङ

अन्तर्राष्ट्रिय युवा दिवस–२०२२ को अवसरमा गत अगस्ट १२ मा नेत्रहीन युवा संघले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा काठमाडौंको एउटा नाम चलेको कलेजमा अध्ययनरत सहभागीले अपाङ्गतालाई मानवीय कमजोरीका रूपमा व्याख्या गरे ।

त्यस्तै हालै नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित, धीरेन्द्र प्रेमर्षी, बबिता बस्नेत र रमेश प्रसाई उपस्थित एउटा कार्यक्रममा अपाङ्गतालाई अक्षमताको अवस्थाका रूपमा चित्रित गर्दै करुणादायी शब्दहरूसहितको भाषण गरियो, जसको सहभागीहरूबाटै व्यापक विरोध भयो । बोलीचालीमा मात्र होइन, नेपाली बृहत् शब्दकोशमा समेत अपाङ्गता भएका व्यक्तिहरूमाथि प्रयोग हुने शब्दहरूका अर्थ अपमानजनक छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको आन्दोलनबाट स्थापित ‘अपाङ्गता’ भन्ने शब्द शब्दकोशमा अटाउन सकेको छैन । ‘अपाङ्ग’ मात्र शब्दसूचीमा छ, जसलाई अपाङ्गता भएका व्यक्तिहरूको आन्दोलनले खारेज गरिसकेको छ । शब्दकोशले ‘अपाङ्ग’ शब्दको यसरी अर्थ लगाउँछ, ‘अङ्गभङ्ग भएको, शरीरको कुनै अङ्ग विकृत भएको, हातगोडा आदि भाँचिएको वा नाक, कान, आँखा आदि विकृत भएको ।’ अझ एक कदम अघि सरेर ‘विकलाङ्ग’ अर्थ लगाउँछ । यस्तो अर्थ अपाङ्गता सम्बन्धी विश्वव्यापी अवधारणा र नेपाल पक्षराष्ट्र रहेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको प्रस्तावनासँग मिल्दैन ।

नेत्रज्योति सम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई, धृतराष्ट्रलाई अक्षम देखाउन महाभारतकालीन साहित्यदेखि प्रयुक्त ‘अन्धो’ शब्दलाई शब्दकोशमा ‘आँखा नदेख्ने, दुवै आँखा बन्द भएको, नेत्रहीन, अन्ध’ भनी अर्थ्याइएको छ । शब्दकोशमा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको बौद्धिक र विवेकी क्षमतालाई सोझै खारेज गर्दै, अन्धोको थप अर्थ लगाइएको छ— ‘विवेकबुद्धि नभएको, अज्ञानी, मूर्ख, मनपरी गर्ने, जथाभावी गरेर हिँड्ने ।’ शब्दकोश यतिमै रोकिँदैन, अन्धोलाई ‘मात्तिएको, उन्मत्त, होस नभएको, बेहोसी’ पनि भन्छ । यसको मूल शब्द ‘अन्ध’ को अर्थ ‘दुवै आँखा नदेख्ने, अन्धो, विवेक नभएको, निर्विवेकी’ भनिएको छ । राज्यको उपेक्षा र समाजको निरन्तरको असहिष्णु व्यवहारका बावजुद अनेक संघर्ष र आफ्नै बलबुताले यहाँसम्म आइपुगेका दृष्टिविहीन समुदायलाई ‘मात्तिएको उन्मत्त’ र ‘बेहोस’ देख्ने प्रज्ञाका अधिकारीहरूले कुन बुद्धिविवेकपूर्ण होसमा आएर यस्तो अर्थ लगाएका हुन् ? तथाकथित ‘मैमत्ता निर्विवेकी’ हरूले निर्ममतापूर्वक जवाफ खोज्नुपर्नेछ ।

स्वर/बोलाइको अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्न प्रयोग गरिने परम्परागत शब्द ‘लाटो’ को अर्थ लगाउँदै शब्दकोशमा लेखिएको छ— ‘बोल्न नजान्ने, बेला पुगेर पनि बोली नफुटेको, अबोला ।’ लाटोको अर्को अर्थ यस्तो छ— ‘लठ्यौरो, लठेप्रो, मूर्ख, जड, निमुखा ।’ यस्तै ‘नुन, पिरो, चिनी आदि नपुगेको, चखिलो नभएको, बेस्वादिलो (तरकारी, अचार आदि) लाई समेत लाटाको अर्थ दिइएको’ पनि उल्लेख छ । स्वर/बोलाइको अपाङ्गता भएका महिलाहरूलाई होच्याउने नियतले प्रयोग हुने ‘लाटी’ शब्दको अर्थ ‘बोल्न नसक्ने, मुखबाट शब्द उच्चारण गर्न नसक्ने (स्त्री)’ उल्लेख छ । लैङ्गिक रूपमा स्त्रीहरूमाथि अपमानको विषवमन गर्न उस्ताद स्वघोषित बौद्धिक सज्जनको उपमा भिरेका प्रज्ञाका विज्ञहरूले ‘लाटी’ शब्दको अर्थ थप विस्तार गर्दै लेख्छन्, ‘लठ्यौरी । मूर्ख, बुद्धिहीन (स्त्री) ।’

अपाङ्गता भएका व्यक्तिहरूको आन्दोलनबाट स्थापित ‘मनोसामाजिक अपाङ्गता’ शब्दलाई नेपाली बृहत् शब्दकोशले चिन्दैन । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूलाई होच्याउने र अपमानित गर्ने ध्येयका साथ प्रयोग गरिने ‘पागल’ शब्दलाई भने शब्दकोशमा ‘बहुला, सन्की, हावा खुस्केको, विक्षिप्त’ भनी अर्थ्याइएको छ । शब्दार्थका जन्मदाता यतिमै रोकिँदैनन् । बरु व्यक्तिलाई अत्यन्त गाली गर्न प्रयोग गरिने ‘निम्छरो’ शब्दलाई समेत पागलको पर्यायवाचीका रूपमा यसरी अर्थ्याइएको छ, ‘गधाको बच्चो, गाँडु’ । पागल र बौलाहालाई समानार्थी मान्ने शब्दकोशमा ‘बौलाहा’ लाई ‘बहुलो, बौलाएको, बहुला, पागल, सिल्लड, छँटाहा’ भनी अर्थ्याइएको छ ।

यस्तै बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई अपमानपूर्वक सम्बोधन गर्न प्रयोग भएको ‘गोज्याङ्ग्रो’ को अर्थ ‘राम्ररी बोल्न नजान्ने, लठेप्रो, ग्वाँजे, सिँगाने’ उल्लेख छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई अपमानको स्तरमा प्रयोग गरिने ‘ढिकीच्याउँ’ लाई समेत ‘लर्‍याङबर्‍याङ चालले काम गर्ने, लोसे (मानिस), लेच्याएर हिँड्ने (मानिस), खोरन्डो’ भनी अर्थ्याइएको छ । बौद्धिक कर्मको ठेक्कापट्टा सम्हालेको प्रज्ञा प्रतिष्ठानका नेपाली भाषाशास्त्रीहरूले अपाङ्गता भएका व्यक्तिहरूमाथि कस्तो दृष्टिकोण राख्छन् भन्ने विषयको ज्वलन्त उदाहरण यी शब्दहरू हुन् । यस्ता ‘अपाङ्गताद्वेषी’ अपमानजनक शब्दहरूको चाङ छ प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा ।

अपाङ्गता भएका व्यक्तिमाथि निर्माण भएको गलत सामाजिक मनोविज्ञानको पुनरुत्पादन गर्नमा बौद्धिकहरूको यस्तो विभेदकारी प्रयत्नले मलजल गरेको छ । नेपाली बृहत् शब्दकोश विद्यार्थीहरूले शब्दभण्डार बढाउन र शब्दहरूको अर्थ खोज्न प्रयोग गर्छन् । जब अपाङ्गता आन्दोलनले सृजना गरेका शब्दहरू नै शब्दकोशमा समावेश गरिँदैनन् र अपाङ्गतामाथिका मानकहरूलाई अपमानित दृष्टिकोणले प्रयुक्त गरिन्छ, सोको अध्ययनबाट आफ्नो ज्ञान र चेतनाको तहलाई उकास्न खोज्ने अध्ययनशील जमातले के शिक्षा लिन्छ ? भाषा विकासको अध्ययन र अनुसन्धान गरी नेपाली वाङ्मयलाई नयाँ उचाइमा विकास गर्ने हेतुसहित स्थापित नेपाल प्रज्ञा प्रतिष्ठानजस्तो प्रतिष्ठित संस्थासमेत, कतै विभेद पुनरुत्पादनको वैधानिक कारखाना बनेको त छैन ? शब्दकोशमा प्रयुक्त अपमानजनक शब्दको अर्थले पंक्तिकार लगायतका अपाङ्गता भएका व्यक्तिहरूलाई सोचमग्न बनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको हकहित संरक्षणको घोषित र अन्य अघोषित लक्ष्यसहित च्याउजस्तै खुलेका अपाङ्गतासम्बन्धी संघसंस्थाले यो विषयमा पर्याप्त आवाज उठाउन सकेका छैनन् । समावेशिता र युवा अन्तरसम्बन्धका विषयमा हजारौंपल्ट गोष्ठी तथा सेमिनारहरू सञ्चालन गर्ने संघसंस्थाले प्राज्ञिक क्षेत्रले गरेको खुलेआम विभेदलाई आँखा चिम्लेर अनदेखा गर्नु सही होइन । पूर्वस्थापित अपाङ्गताद्वेषी मानकहरू भत्काउने र अपाङ्गता भएका व्यक्तिमाथि बौद्धिकताको कलेवरमा अपमानको भाष्य निर्माण गर्ने प्राज्ञिकहरूको चेतनामाथि प्रश्न उठाउने स्तरमा आन्दोलनलाई विकसित गर्न सक्दा मात्र बौद्धिकहरूले आम विद्यार्थी र नवपुस्तामाथि थोपरेको परम्परागत अपाङ्गताद्वेषी भाष्यलाई चुनौती दिन सकिन्छ ।

थापा काठमाडौं विश्वविद्यालयमा कानुनका विद्यार्थी हुन् ।